पोखरा, ७ चैत्र। सरकारले रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले बैठकका अन्य निर्णयहरूबारे समेत जानकारी गराए। मन्त्रिपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकका रूपमा अर्घाखाँचीका यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिने निर्णय भएको छ। साथै, शिक्षक सेवा आयोगका लागि सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई सदस्य नियुक्त गरिएको छ।




























