पोखरा, १५ चैत्र। देशका केही भूभागमा आज मौसम बदली रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा बिहानैदेखि आंशिक बदली देखिएको छ भने अन्य स्थानको मौसम सफा छ।
दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात पनि हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
काठमाडौं उपत्यकामा हावाको बेग बढ्ने भए पनि मौसम सफै रहनेछ। आगामी केही दिन वर्षाको सम्भावना नरहेको मौसमविद् विनु महर्जनले जानकारी दिएकी छिन्। काठमाडौंमा दिउँसो तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।




























