काठमाडौं, १५ चैत्र। काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले सुरक्षा बलसँग उग्र झडप गरेपछि स्थिति तनावपूर्ण बनेको छ। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर अश्रुग्यास प्रहार गर्ने प्रयास गरेका छन्।
प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा, राजावादी प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका छन्। यस घटनामा आगो निभाउन पुगेको दमकलमाथि पनि प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताए।
यसैबीच, प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट र कान्तिपुरको कार्यालयमा पनि आक्रमण गरेका छन्। सोहीक्रममा एकजनालाई गोली लागेको र सशस्त्र प्रहरीकी एक जवानको टाउको फुटेको खबर प्राप्त भएको छ। अहिले पनि क्षेत्रभर तनाव कायम छ र क्षतिको सम्पूर्ण विवरण अझै आइसकेको छैन।




























