रवीन्द्र मिश्रको मिडियाप्रति असन्तुष्टि: ‘नेता भागे’ भन्ने समाचार भ्रामक

काठमाडौं, १५ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले केही मिडियाले राजावादी प्रदर्शनमा ‘नेता भागे’ भन्ने समाचार सम्प्रेषण गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनपछि सामाजिक सञ्जाल एक्समार्फत मिश्रले यस्तो असन्तोष प्रकट गरेका हुन्। उनले शान्तिपूर्ण रूपमा भइरहेको आन्दोलनलाई भड्काउन प्रहरीले सुरुमै अश्रुग्यास प्रहार गरेको आरोप लगाउँदै नेताहरू भागेको भन्ने समाचार भ्रामक भएको बताएका छन्।

‘केही मिडियाले ‘नेता भागे’ भनेर लेखेछन्। मेरो यसअघिका र यो पोस्ट हेर्नुहोला। शान्तिपूर्ण स्टेज कार्यक्रममा शुरूमैँ टियरग्यास प्रहार गरेर सहभागीहरूलाई भड्काएको दोष प्रहरीको होइन, आदेश दिनेको हो,’ मिश्रले लेखेका छन्।

यसअघि नै मिश्रले आन्दोलनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका थिए। उनले शान्तिपूर्ण संक्रमणमार्फत नवीन राजनीतिक समझदारी खोजिरहेको उल्लेख गर्दै लोकतान्त्रिक रूपमा आन्दोलित हुने अधिकार कुण्ठित नगरिनुपर्ने बताएका छन्।

Give Your Feedback