पोखरा, १५ चैत्र। काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्युको समय थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार काठमाडौंमा जारी कर्फ्यु भोलि (शनिबार) बिहान ७ बजेसम्म कायम रहनेछ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले तीनकुनेसहितका विभिन्न क्षेत्रमा शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। तर, तोकिएको समयभित्र पनि प्रदर्शनकारीहरूद्वारा विभिन्न ठाउँमा तोडफोड र आगजनी भइरहेकाले प्रशासनले कर्फ्युको अवधि बढाउने निर्णय गरेको हो।
शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थानलाई समेट्दै जारी गरिएको कर्फ्यु आदेशका कारण ती क्षेत्रमा कडाइ गरिएको छ। सुरक्षाकर्मीले अत्यावश्यक सेवाबाहेक अरू सबै गतिविधिमा रोक लगाएका छन्।
कर्फ्यु आदेश लागू गर्नु अघि प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क गराएको थियो। तर, केही प्रदर्शनकारीहरूले अराजक गतिविधि जारी राखेपछि प्रशासन थप कडा बनेको हो।































