पोखरा, १८ चैत्र। काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि मुख्य अभियुक्त दुर्गा प्रसाईं फरार रहेका छन्। प्रहरी शुक्रबार रातिदेखि नै उनको खोजीमा जुटे पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन। पछिल्लो जानकारीअनुसार, प्रसाईं या त नेपाल-भारत सीमाक्षेत्रमा लुकेर बसेका छन् वा भारत पुगिसकेका छन् भन्ने प्रहरीको आशंका छ।
आइतबार सामाजिक सञ्जालमा प्रसाईंले सार्वजनिक गरेको भिडियोमा उनी कुनै मन्दिर अगाडि देखिन्छन्। सोही भिडियोको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्यूरोले खोजी गरे पनि उनको सही ठेगाना पत्ता लाग्न सकेन। प्रहरी स्रोतका अनुसार, प्रसाईं मोबाइल स्वीच अफ गरी भूमिगत भएका छन्। उनलाई पक्राउ गर्न ७० सुरक्षाकर्मीको विशेष टोली परिचालित गरिएको छ।
शुक्रबार प्रसाईं तीनकुनेमा आफ्नै गाडी हाँक्दै पुगेका थिए। प्रहरी घेरा तोड्दै अगाडि बढेका उनी दोस्रो सुरक्षा घेरासम्म पुगेपछि गाडी छाडेर भाग्न सफल भए। त्यतिबेला सुरक्षाकर्मीहरूले उनलाई पक्राउ गर्न निर्देशन मागेका थिए, तर भीड झन् उग्र हुने भयले तत्काल नियन्त्रणमा नलिने आदेश आएको थियो। पछि जब स्थिति नियन्त्रणभन्दा बाहिर गयो, कर्फ्यु लगाउने निर्णय गरियो।
राति ८ बजेपछि मात्रै प्रसाईंलाई पक्राउ गर्न आदेश आयो। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतका नेताहरू पक्राउ परे पनि प्रसाईं फुत्कन सफल भए। प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगे पनि उनी त्यहाँ थिएनन्।
प्रसाईंको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो, विशेष ब्यूरो, अपराध अनुसन्धान कार्यालयलगायत प्रहरीका विभिन्न निकाय सक्रिय भएका छन्। सातै प्रदेशका प्रहरी प्रमुखहरूलाई भारतसँग जोडिएका सीमा नाकामा निगरानी बढाउन निर्देशन दिइएको छ। सशस्त्र प्रहरी बललाई पनि सीमामा कडा निगरानी गर्न लगाइएको छ।
प्रहरी प्रवक्ता डीआईजी दिनेश अधिकारीका अनुसार, प्रसाईंको खोजी प्राविधिक तथा मानव स्रोतमार्फत भइरहेको छ। तर, उनले सर्वसाधारणबीच खुलेर हिँडडुल नगरेकाले पक्राउ गर्न समय लाग्ने देखिन्छ।































