पोखरा, २३ चैत्र। सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने आदेश उच्च अदालतले बदर गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार राति पक्राउ परेका छन्। सीआईबी, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोली सिजी हिल्सस्थित लामिछाने निवास पुगेपछि उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ गर्न पुगेको टोलीसँग औपचारिक कागजात नभएको भन्दै लामिछाने तथा रास्वपाका नेताहरूले आपत्ति जनाए। लामिछानेलाई पक्राउ गर्न उच्च अदालत बुटवल इजलासको आदेशको प्रतिलिपि मात्र लिएर पुगेको प्रहरीले बेडरुममै बसेर जरुरी पूर्जी लेखेको र त्यही आधारमा पक्राउ गरिएको रास्वपा नेताहरूको भनाइ छ।

सांसद शिशिर खनाल, डिपी अर्याल, प्रणय राना लगायतका नेताहरूको रोहवरमा लामिछानेले औपचारिक पूर्जीमा हस्ताक्षर गरेपछि उनलाई भद्रकालीस्थित प्रहरी कार्यालय लगिएको हो। प्रहरीका अनुसार भैरहवा पुर्‍याएर पुर्पक्षका लागि कारागार चलान गर्ने तयारी गरिएको छ।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेको संलग्नता रहेको भन्दै उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको धरौटीमा छाड्ने निर्णयलाई बदर गरेको हो। अदालतले लामिछानेको बयान पत्यारलाग्दो नरहेको ठहर गर्दै, सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन भएको आशंका जनाएको छ। लामिछाने यसअघि पनि विभिन्न सहकारी प्रकरणमा थुप्रैपटक धरौटीमा छुटेका थिए।

यो प्रकरणका मुख्य अभियुक्त जीबी राई अझै फरार छन् भने लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान गरिरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0