पोखरा, २३ चैत्र। सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा पठाउन आदेश पाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको छ। शुक्रबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई यती एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

विमानस्थलमा ओर्लिएलगत्तै उनलाई सुरक्षा घेराबीच जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा पुर्‍याइएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइने तयारी गरिएको प्रहरीले जनाएको छ।

सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिँदै लामिछानेले फैसला पुनरावलोकनको माग गरेका थिए। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले शुक्रबार सुनाएको आदेशमा उनलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने निर्णय भएको हो।

उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशलाई बदर गर्दै लामिछानेलाई थुनामा पठाउनु उपयुक्त ठहर गरेको छ। अदालतले धरौटी वा थुनाको विकल्पका सम्बन्धमा कसुरको प्रकृति, पीडितको अवस्था र घटनाको परिस्थितिलाई आधार बनाएर आदेश दिएको हो।

शुक्रबार राति पक्राउ परेपछि उनलाई काठमाडौँस्थित जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो। आदेश कार्यान्वयनको क्रममा शनिबार बिहानै उनलाई भैरहवा ल्याइएको हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0