पोखरा, २७ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई समय सापेक्ष र कार्यान्वयनमैत्री बनाउन राजनीतिक समिति गठन गरी संशोधन प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्। मधेश प्रदेशसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यमान प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले संविधान संशोधनको पहल गरिने स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको संयुक्त सरकारबाट राजनीतिक समिति निर्माण गरेर संविधान संशोधन प्रक्रिया अघि बढाइने बताए। उनले सामाजिक सद्भाव, राष्ट्रिय एकता, सुशासन र विकासको आवश्यकता अनुसार समयअनुसार संविधानमा संशोधन गरिने जनाए। संविधान संशोधनको नाममा प्याण्डोराको बाकस नखोलिने प्रस्ट पार्दै उनले देशको प्रगति र स्थायित्वका लागि मात्रै ढोका खोलिने बताए।
राजतन्त्र पुनःस्थापनाको भ्रम सिर्जना गर्ने प्रयासप्रति पनि उनले गहिरो असन्तोष जनाए। ओलीले गणतन्त्र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि भएको भन्दै वर्तमान पुस्तालाई सचेत गराउँदै गणतन्त्र नै देशको भविष्य भएको उल्लेख गरे।
उनले विपक्षी दलहरूले पनि गणतन्त्र र वर्तमान व्यवस्थाको समर्थन गर्नु सुखद पक्ष भएको बताए। प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई सुव्यवस्थित गर्दै अगाडि बढाउने जिम्मा सबै नेपालीको साझा भएको धारणा व्यक्त गरे।
छिमेकी राष्ट्रहरूसँगको सम्बन्धका विषयमा बोल्दै प्रधानमन्त्री ओलीले केही अनावश्यक हल्ला चले पनि भारत र चीनसँग नेपालका सम्बन्ध अटुट र मित्रवत रहेको बताए। उनले सन्दर्भ दिँदै “सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ” भन्दै दुई छिमेकी राष्ट्रसँगको सम्बन्धलाई स्वाभाविक र सकारात्मक उल्लेख गरे।































