पोखरा, १ वैशाख। बिक्रम सम्बत २०८१ नेपाली खेलकुद क्षेत्रका लागि मिश्रित परिणामले भरिएको एक ऐतिहासिक वर्ष बन्यो। यो वर्ष खेलकुदमा थुप्रै सुखद उपलब्धिहरू हासिल भए भने, केही विवाद र असफलताले निराशा पनि थपे। वर्षभरि विविध खेल प्रतियोगिता नियमित रूपमा सञ्चालन भए, अन्तर्राष्ट्रिय सहभागिता समेत उल्लेखनीय रह्यो।

विशेष रूपमा भलिबल, खोखो, सेपाकताक्रो, कबड्डी र तेक्वान्दो जस्ता खेलमा नेपालले ऐतिहासिक सफलता हात पार्‍यो। पेरिसमा सम्पन्न पारालिम्पिक्समा पलेशा गोवर्द्धनले तेक्वान्दोमा कांस्य पदक जितेर नेपाली खेल इतिहासकै ठूलो उपलब्धि दिलाइन्। यता, महिला भलिबलले पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई महत्वपूर्ण उपाधि हात पार्‍यो। नेपाल पुलिस क्लबले पहिलो काभा महिला क्लब भलिबल जित्दा, कमला पुन र मनीषा चौधरीको जोडीले काभा बीच भलिबलमा स्वर्ण जितिन्।

सेपाकताक्रो विश्वकपमा नेपालले पहिलो पटक मिक्स इभेन्टमा स्वर्ण जित्दा तीन वटा कांस्य पदक थप्दै कीर्तिमानी प्रदर्शन गर्‍यो। खोखो विश्वकपमा नेपाल पुरुष तथा महिला दुवै टोली उपविजेता बनिन्, यद्यपि सरकारले अहिलेसम्म पदक विजेताहरूलाई उचित सम्मान प्रदान नगरेकोप्रति आलोचना छ।

कबड्डीमा पनि नेपालले महिला एसियाली कबड्डी च्याम्पियनसिपमा कांस्य जित्यो भने पहिलो पटक पुरुष फ्रेन्चाइज लिग सम्पन्न भयो। जनकपुर नाइट्स विजेता बनेको यस लिगमा नेपाली खेलाडीले राम्रै पारिश्रमिक पाएका थिए।

बास्केटबलतर्फ वर्षको अन्त्यतिर भारतमा सम्पन्न साबा प्रतियोगितामा टाइम्स क्लबले तेस्रो स्थान हात पार्दै उत्साहजनक परिणाम दियो। करातेमा एरिका गुरुङले अस्ट्रेलियन ओपनमा स्वर्ण जित्दा एसियन कराते च्याम्पियनसिपमा रजत समेत थपिन्।

बक्सिङमा पनि नेपालको उपस्थिति दमदार रह्यो। बहराइनमा भएको जुनियर समर गेम्समा स्वस्तिका तिरुवा र नुर्बु शेर्पाले स्वर्ण जिते। यस्तै, देशभित्र आयोजित विविध म्याराथन तथा मार्सल आर्ट्स प्रतियोगिताहरू समयमै सम्पन्न भए।

तर, राष्ट्रिय खेलकुद प्रतियोगिता भने अहिलेसम्म सम्पन्न हुन सकेको छैन। संघीय तथा कर्णाली प्रदेश सरकारको तयारीको अभावले खेलाडीहरूमा अन्योलता छाइरहेको छ। नेपाल ओलम्पिक कमिटी र सरकारबीचको विवादले खेल प्रशासनलाई प्रभावित पारेको देखिन्छ। यस्तो अवस्था आउँदो वर्ष सुध्रिने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0