पोखरा, ९ वैशाख। नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्र हाल यात्रुका लागि यात्राको सट्टा पीडाको यात्रा बनेको छ। विगत डेढ महिनादेखि निरन्तर निर्माण कार्यका बीच यात्रुहरू दैनिक १० देखि १५ घण्टासम्म सवारी जाममा अल्झिन बाध्य छन्। ‘लाइफ लाइन हाइवे’ भनेर चिनिने यो सडक खण्डमा निर्माण कम्पनीले यात्रुको सहजतालाई उपेक्षा गर्दै आफ्ना लागि सहज हुने ढंगले काम गरेपछि अवस्था विकराल बनेको हो।
दाउन्ने खण्डमा कटिङ, कल्भर्ट र वाल निर्माणको काम भइरहेको छ। सवारी सञ्चालन बन्द गरि रातको ११ बजेदेखि बिहान ५ बजेसम्म काम गरिँदै आएको भए पनि कामको गति अत्यन्तै ढिलो छ। निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले २०७५ माघमा ठेक्का पाए पनि समयमै निर्माण सक्न नसकेकोप्रति सरकारको आलोचना हुँदै आएको छ। अहिलेसम्म सडक निर्माणको भौतिक प्रगति ६३ प्रतिशत मात्र पुगेको छ।
दाउन्ने खण्डको यात्रा पहाड काटिएको माटोले बनेको धूलो र पानी पर्दा चिप्लिने हिलोका कारण अझ जोखिमपूर्ण बन्न पुगेको छ। यात्रुहरू बाटोमा अलपत्र परिरहेका छन्, खाजा र पानीको अभावमा बालबालिकासमेत रोइरहेका छन्। पूर्वी नवलपरासीको बर्दघाटदेखि दुम्कीबाससम्मको १४ किलोमिटर खण्ड पार गर्न सामान्य अवस्थामा पनि कम्तीमा पाँच घण्टा लाग्छ।
वैकल्पिक मार्गको अभावले यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्। केही साना सवारी साधनले भुताहा, संसारकोट हुँदै गन्तव्य पुग्ने प्रयास गरे पनि त्यो अफ रोड भएकाले सहज छैन। मालवाहक ट्रकहरूलाई लामो घुमाउरो बाटोबाटै जानुपर्ने बाध्यता छ।
निर्माणको गति अत्यन्त सुस्त हुँदा चिन्तित बनेका स्थानीय र यात्रुले सरकार र ठेकेदारलाई दबाब दिइरहेका छन्। दाउन्ने क्षेत्रको सडक मर्मतमा वर्षा अघि नै न्यूनतम पूर्वाधार पुरा गरिनुपर्ने भन्दै इलाका प्रहरी र स्थानीय प्रशासनले आग्रह गरिरहे पनि कामको गतिमा सुधार देखिएको छैन।
निर्माणको ढिलाइको कारणमा रूख कटान, विद्युत पोल स्थानान्तरण, निर्माण सामग्रीको अभाव र कोभिड महामारीसमेत उल्लेख गरिएको छ। ठेक्का सम्झौता ४२ महिनामा निर्माण सक्ने गरी गरिएको थियो तर तीनपटक म्याद थपिएको यो आयोजनाले अझै पनि स्पष्ट अन्त्य देखाएको छैन।


























