पोखरा, ९ वैशाख। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। उनले समितिको बैठक एकपटक पनि नबसेको र आफूलाई काम गर्न नदिएको गुनासो गर्दै मंगलबार ह्वाट्सएपमार्फत राजीनामा पठाएका हुन्।

डा. भट्टराईले समितिमा बसिरहनुको औचित्य नरहेको उल्लेख गर्दै, स्वीकृति भएन भने पनि आफूको निर्णय यथावत् रहने स्पष्ट पारे। उनले मापदण्ड नपुगेका व्यक्तिलाई सिफारिस गर्न नसकिने अडान राख्दै आएका थिए र यस्तो अवस्थामा नोट अफ डिसेन्ट राख्ने धारणा व्यक्त गरेका थिए।

सरकारले चैत १८ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा डा. भट्टराई र अर्थविद् विश्व पौडेललाई सदस्य बनाउँदै सिफारिस समिति बनाएको थियो। तर, सत्तारूढ दलहरू नेपाली कांग्रेस र एमालेबीच सहमति नजुट्दा समितिले काम अघि बढाउन सकेन।

यसबीच, गभर्नर पदमा कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अगाडि आएको भए पनि सर्वोच्च अदालतमा उनको योग्यता सम्बन्धी पूरक निवेदन दर्ता भएको छ। त्यसमाथि सुनुवाइ जारी छ। यिनै राजनीतिक रस्साकस्सी र प्रक्रियागत अन्योलका बीच डा. भट्टराईले असन्तुष्टि व्यक्त गर्दै समितिबाट बाहिरिएको घोषणा गरेका हुन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0