पोखरा, १० वैशाख। भारतको जम्मू कश्मीरस्थित लोकप्रिय पर्यटकीय गन्तव्य पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी आक्रमणमा २७ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार बैसरन उपत्यकामा दिउँसो २:४५ बजे भएको बन्दुकधारीहरूको आक्रमणमा एक नेपाली नागरिकको समेत ज्यान गएको पुष्टि भएको छ।
दैनिक भास्करको समाचारअनुसार मारिएका नेपालीको नाम सुदीप न्यौपाने रहेको छ। उनको ठेगाना समाचारमा नेपाल मात्र उल्लेख गरिएको छ। आक्रमणमा मारिएका अन्य पर्यटकहरू उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्।
भारतीय सञ्चारमाध्यमहरूले आक्रमणको जिम्मेवारी पाकिस्तानमा आधारित आतङ्कवादी समूह लश्कर-ए-तैयबाले लिएको जनाएका छन्। यो आक्रमण २०१९ मा पुलवामा भएको ठूलो आतंकवादी घटनापछि जम्मू कश्मीरमा भएको सबैभन्दा भीषण आक्रमण मानिएको छ। घटनास्थल सुरक्षाकर्मीहरूले घेराबन्दी गरेका छन् र थप अनुसन्धान जारी रहेको जनाइएको छ।


























