पोखरा, ११ वैशाख। भारतका गृहमन्त्री अमित शाहले कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि बुधबार घटनास्थल पुगेर अवस्था अवलोकन गरेका छन्। मंगलबार बाइसारन घाँसे मैदानमा भएको उक्त आक्रमणमा केही व्यक्तिको मृत्यु भएको थियो भने अन्य थुप्रै घाइते भएका थिए। यो हमला सन् २०१९ को पुलवामा हमलापछि कश्मीर उपत्यकामा भएको सबैभन्दा ठूलो आक्रमणको रूपमा लिइएको छ।

गृहमन्त्री शाहले बिहान हेलिकोप्टरमार्फत बाइसारनको हवाई निरीक्षण गर्दै सुरक्षा अवस्था र घटनास्थलको अवस्था प्रत्यक्ष रूपमा बुझेका थिए। त्यसअघि उनले श्रीनगरस्थित प्रहरी नियन्त्रण कक्षबाहिर आयोजना गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले पीडित परिवारजनहरूसँग पनि भेट गरेका थिए।

शाहले सामाजिक सञ्जालमार्फत भारत आतंकवादको अगाडि कहिल्यै नझुक्ने भन्दै आतंकवादी आक्रमणका दोषीहरूलाई कुनै उन्मुक्ति नदिइने प्रतिबद्धता दोहोर्‍याएका छन्। आक्रमणमा घाइते भएका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन उनले अनन्तनागस्थित सरकारी मेडिकल कलेज अस्पतालको निरीक्षणसमेत गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0