पोखरा, ११ वैशाख। विदेश जाने सपनासहित नेपाल आएका बंगलादेशी युवाहरू काठमाडौंमा ठगीको शिकार भएका छन्। इटाली र फ्रान्स पुग्ने प्रलोभनमा परेर आएका १३ जना बंगलादेशी नागरिकले तीन हजार ५०० डलरका दरले झण्डै ४५ हजार डलर बुझाएपछि उनीहरूको सपना कागजको खोस्टासँगै चकनाचुर भएको छ।
अलिम मोल्लिकसहित १३ जना युवा भिजिट भिसामा नेपाल आएका थिए। इटाली पठाइदिने भन्दै मुहम्मद फरहिद हुसेन चौधरी नेतृत्वको समूहले उनीहरूलाई काठमाडौंको गौशालास्थित होटल प्राइम स्विटमा राखेका थिए। सोमबार उनीहरूलाई भिसा प्रक्रियाका नाममा होटलकै सेमिनार हलमा बोलाइयो। फारम भर्न लगाइयो, र त्यही मौका छोपी चौधरी समूहले उनीहरूले ल्याएको डलर भएको खाम कागजको खामसँग साट्यो। खाम खोलेर हेर्न नदिने बहानामा उनीहरूलाई त्रास दिइयो।
होटेलमा पुगेर खाम खोलेपछि मात्रै ठगिएको महसुस गरेका ती युवाहरूले दुई दिनसम्म एजेन्टहरूसँग सम्पर्क गर्न प्रयास गरे। जब कुनै सम्पर्क भएन, उनीहरू प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे। अनुसन्धानपछि डीएसपी रोशन खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार शिवशक्ति होटलबाट तीन र बिहीबार थप दुईजनालाई पक्राउ गर्यो। उनीहरूबाट ९ हजार ८५० डलरसहित विभिन्न रकम बरामद भएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बंगलादेशी नागरिकलाई यूरोप लैजाने भन्दै नेपाल झिकाएर ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको छ। अदालतबाट म्याद लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।































