पोखरा, १३ वैशाख। केही महिना यता नेपाली चलचित्र प्रदर्शन भइरहँदा चलचित्रघरभित्रै क्यामेरा लिएर दर्शकको प्रतिक्रिया लिने प्रवृत्तिप्रति दर्शक र कलाकार दुवै असन्तुष्ट हुन थालेपछि चलचित्रकर्मीहरूले अब यस्ता गतिविधिमा रोक लगाउने बताएका छन्। चलचित्र प्रदर्शन भइरहेका बेला युट्युब सञ्चारकर्मीहरू दर्शकमाझ बुम तेस्र्याउँदै साक्षात्कार लिने क्रम तीव्र भएको थियो, जसले हलको शान्त वातावरणमा बाधा पुर्याएको भन्दै दर्शकको चर्को विरोध शुरु भएको हो।
चलचित्र “खेल”की अभिनेत्री सुरक्षा पन्तले अब चलचित्र प्रदर्शन भइरहँदा दर्शकको गोपनीयता र स्वतन्त्रता सुनिश्चित गर्न हलभित्र क्यामेरा लिएर प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन्। यसैगरी, शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्र “भुठान”को निर्माण टिमले पनि हलभित्र युट्युबर लिएर जाने परम्परा अन्त्य गर्ने बताएको छ।
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले प्रिमियर शोमा दर्शकसँग मौखिक संवाद गर्न सकिने भए पनि क्यामेरा लिएर हलभित्र पस्ने काम दर्शकप्रति अपमानजनक भएको भन्दै त्यसप्रति आपत्ति जनाए। अभिनेत्री स्वस्तिमा खड्काले पनि यस्ता गतिविधिले दर्शकलाई असहज बनाएको भन्दै समर्थन जनाएकी छन्।
काठमाडौंका ठूला हलहरू जस्तै बिग मूभिज, क्युएफएक्स लविम मल लगायतका चलचित्रघरहरूले अब प्रिमियर शोबाहेक हलभित्र क्यामेरा लिएर प्रतिक्रिया लिन नदिने निर्णय गरेका छन्। दर्शकको गोपनीयता र चलचित्र अवलोकनको स्वतन्त्रता सुनिश्चित गर्न भन्दै यस्ता प्रतिबन्धहरु लागु गर्न थालिएको हो।
चलचित्रकर्मी, हल सञ्चालक र दर्शकबीचको यो सहकार्यले नेपाली चलचित्र उद्योगमा अनुशासन र दर्शकप्रति सम्मानजनक व्यवहारको सन्देश फैलाउने विश्वास लिइएको छ।





























