पोखरा, १३ वैशाख। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र भारतस्थित बोस्निया र हर्जगोभिनाको दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच नेपाली कामदार लैजाने विषयमा द्विपक्षीय श्रम सम्झौता गर्नेबारे छलफल भएको छ। मन्त्रालयमा आज सम्पन्न छलफलमा दुबै पक्षबीच श्रमिक आपूर्तिबारे सहकार्य विस्तारको सम्भावनामाथि गम्भीर विचारविमर्श भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।

बोस्नियाले नेपाली श्रमिकलाई नयाँ रोजगारी गन्तव्यका रूपमा पहिचान गर्न थालेको सन्दर्भमा मिसन उपप्रमुख मेसिनोभिकले श्रम सम्झौताको प्रस्ताव अघि सारेका थिए। उनले नेपाली कामदारका लागि कानुनी संरचना निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे। मन्त्री भण्डारीले सो प्रस्तावलाई सकारात्मक रूपमा लिँदै आवश्यक प्रक्रिया थालनी गर्ने प्रतिबद्धता व्यक्त गरे।

भण्डारीले युरोपका अन्य देशहरूसँग पनि श्रम सम्झौताको गृहकार्य भइरहेको जानकारी दिँदै, बोस्निया नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे। उनले वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आवश्यक तालिमको व्यवस्था सरकारबाट गरिने उल्लेख गरे।

श्रम मन्त्रालयले बोस्नियासँगको सम्भावित सहकार्यलाई ध्यानमा राख्दै श्रमिकको योग्यता, सीप र सुरक्षाका पक्षलाई प्राथमिकता दिने जनाएको छ। बोस्नियाबाट जनशक्ति माग भएमा सरकारद्वारा तयार पारिने दक्ष जनशक्ति समयमै पठाउने तयारी रहेको मन्त्री भण्डारीले स्पष्ट पारे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0