पोखरा, १४ वैशाख। काठमाडौँस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले सभामुख देवराज घिमिरेलाई पत्राचार गरी राईको पक्राउबारे जानकारी दिएका छन्। शनिबार बुढानीलकण्ठ–१०, कपनबाट पक्राउ परेकी राईलाई सुमन खनालसहितको जाहेरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा सांसद राईविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उनी २०७४ सालमा सो सहकारीमा सहसचिवको जिम्मेवारीमा कार्यरत थिइन्। ६ सय ९० बचतकर्ताले करिब १ अर्ब १९ करोड रुपैयाँ ठगी भएको दाबी गर्दै उजुरी दिएका थिए। विस्तृत अनुसन्धानपछि ५ हजार ६ सय ६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्ष निकालिएको थियो।

यस प्रकरणमा मुख्य अभियुक्त गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित ३४ जना फरार रहेका छन्। अभियोगपत्रमा सेयरधनी र अन्य अनधिकृत व्यक्तिहरूद्वारा सहकारीको रकम गैरकानुनी रूपमा अपचलन गरिएको उल्लेख गरिएको छ। सुरुमा प्रतिवादी बनाइन नसकेकी माया राईमाथि पछिल्लो अनुसन्धानपछि पक्राउ प्रक्रिया अगाडि बढाइएको हो। राई कांग्रेसको १४औँ महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भई समानुपातिक सांसद बनेकी हुन्।

यसै प्रकरणमा अदालतले अर्का अभियुक्त रवि लामिछानेलाई ६० लाख रुपैयाँ र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0