पोखरा, १५ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापनाको आन्दोलनमा सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। सोमबार काठमाडौंको रत्नपार्कमा कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै लिङ्देनले देशको जटिल परिस्थितिबाट निकास दिन देशभक्त शक्तिहरू एक ठाउँमा बस्नुपर्ने बताए। उनले आग्रह पूर्वाग्रह त्यागेर साझा संघर्ष गर्न राजावादी धारका सबै पार्टीहरूलाई आग्रह गरे।
लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको न्यायिक छानबिनका लागि दबाब सिर्जना गर्नुपर्ने बताएका छन्। उनले प्रहरी नियन्त्रणमा रहेका आन्दोलनकारीहरूको रिहाइका लागि सशक्त अभियान चलाउन आह्वान गरे। कार्यक्रममा संघर्ष समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्तिका नेता केशरबहादुर विष्टको समेत सहभागिता रहेको थियो।
राप्रपाको महाधिवेशनमा पराजयपछि छुट्टै दल खोलेका कमल थापा र अध्यक्ष लिङ्देन झण्डै चार वर्षपछि एउटै मञ्चमा देखिएको घटनाले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।




























