पोखरा, १९ वैशाख। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिचौलिया र भगौडा वर्गको सेवामा लागेको आरोप लगाएका छन्। इनरुवामा आजपा निकट आम ट्रेड युनियन फेडरेसनद्वारा आयोजित दलाल दलतन्त्र विरुद्धको खबरदारी सभामा बोल्दै उनले वर्तमान सरकार श्रमिक, मजदुर र आम जनताको हितमा काम नगरेको दाबी गरे।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष साहले प्रधानमन्त्री ओलीको नेतृत्वमा भ्रष्टाचार, बेथिति र अनियमितता बढेको उल्लेख गर्दै सरकार पूर्ण असफल भएको टिप्पणी गरे। उनले गभर्नरसमेत नियुक्त गर्न नसक्ने सरकारबाट मुलुक चल्न नसक्ने तर्क राखे।
साहले नेपाली कांग्रेसप्रति पनि कटाक्ष गर्दै प्रधानमन्त्री ओलीको असफलता र बेथितिमा कांग्रेस मौन साक्षी बनेकोमा चिन्ता व्यक्त गरे। वैदेशिक सम्बन्ध कमजोर पार्ने ‘स्टन्ट’ सरकार प्रमुखबाट भइरहेको भन्दै उनले वर्तमान अवस्था मुलुकलाई अन्योलतर्फ धकेल्ने बताए।
साहले विदेशमा रहेका श्रमजीवी नेपाली मजदुरहरू विभिन्न समस्याले पीडित हुँदा सरकार मौन रहनु दुर्भाग्यपूर्ण भएको धारणा राखे। उनले वैदेशिक रोजगारमा रहेका नेपाली मजदुरहरूले ट्रेड युनियनको हक र अधिकार पाउनुपर्नेमा जोड दिए।































