पोखरा, १९ वैशाख। भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत फेला परेकी छिन्। पर्साको वीरगन्जकी १९ वर्षीया प्रिसा साह बिहीबार साँझ किट विश्वविद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। उनी बीटेक प्रथम वर्षमा अध्ययनरत थिइन्।

प्रिसाको मृत्यु साढे दुई महिनाअघि रूपन्देहीकी छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनापछि दोहोरिएको हो। दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले प्रिसाको मृत्यु पुष्टि गर्दै घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताएका छन्। ओडिसा प्रहरीले अनुसन्धान थालेको छ भने परिवारको उपस्थितिमा मात्र शवको पोस्टमार्टम गरिने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ होस्टेलको हाजिरीका क्रममा प्रिसाको कोठा नखुलेपछि प्रशासनले बलपूर्वक ढोका खोलेको थियो। त्यसपछि उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरी आयुक्त एस देवदत्त सिंहका अनुसार प्रारम्भिक जाँचमा शरीरमा कुनै चोटपटक देखिएको छैन र घटना आत्महत्याजस्तै देखिए पनि पूर्ण अनुसन्धान जारी छ।

प्रिसाको मृत्युअघि फागुन ४ गते किटमै अध्ययनरत प्रकृति लम्साल मृत फेला परेकी थिइन्। मानसिक दुर्व्यवहार र ब्ल्याकमेलको उजुरी दिएको भए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि उनले आत्महत्या गरेकी थिइन्। सो घटनापछि विद्यार्थी आक्रोशित भएका थिए भने नेपाल सरकारले भारतीय पक्षलाई कडा चेतावनी दिएको थियो।

दुई महिनाको अन्तरालमै दुई नेपाली छात्राको मृत्यु भएको घटनाले ओडिसास्थित नेपाली समुदायमा त्रास बढेको छ। हाल किट विश्वविद्यालयमा अध्ययनरत १२०० भन्दा बढी नेपाली विद्यार्थीहरू छन्। पुनः यस्तै घटना भएको भन्दै अभिभावक, विद्यार्थी र सरकारबीच विश्वविद्यालयको जिम्मेवारी र सुरक्षा व्यवस्थाबारे चासो बढ्न थालेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0