पोखरा, १९ वैशाख। भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युको घटनालाई लिएर परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल सुरु गरेको छ। वीरगन्जकी १९ वर्षीया प्रिसा बिहीबार साँझ आफ्नै होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू मर्माहत भएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा राज्य सरकार र दिल्लीस्थित नेपाली दूतावासमार्फत सत्यतथ्य छानबिनका लागि आवश्यक पहल थालिएको जनाएकी छन्।

छात्राको मृत्युको कारणबारे हालसम्म स्पष्ट खुलासा भइनसकेको भए पनि घटनाप्रति सरकार संवेदनशील बनेको छ। यसअघि पनि सोही विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको घटना ताजै रहँदा पुनः यस्तै घटना दोहोरिनु गम्भीर विषय बनेको छ।

सरकारले भारतीय पक्षसँग घनिष्ठ समन्वय गर्दै घटनाको यथार्थ जानकारी लिने र आवश्यक न्यायिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0