पोखरा, २३ वैशाख। नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले कर्मचारी नियुक्ति र हटाउने अधिकार स्वाभाविक र कानुनी भएको बताउँदै कुलमान घिसिङ हटाउने निर्णयको बचाउ गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा प्रमुखसेनापति र मुख्यसचिव हटाएको प्रसंग कोट्याउँदै वर्तमान सरकारको निर्णयप्रति असन्तुलित प्रतिक्रिया नगर्न आग्रह गरे।
सांसद भट्टराईले एक सहसचिव तहका कर्मचारी हटाएको कुरालाई प्रधानसेनापति वा मुख्यसचिव हटाएको सरह तुलना गर्नु अतिशयोक्ति भएको बताए। उनले प्रचण्ड नेतृत्वको सरकारका पालामा राष्ट्रिय सुरक्षा सल्लाहकारको नयाँ पद सृजना गरिएको, काम गरिरहेका मुख्यसचिव हटाइएको र ट्युनिङ नमिलेका कारण उच्चपदस्थहरूलाई हटाउनेजस्ता कार्यहरू प्रशस्तै भएको स्मरण गराए।
उनले ट्युनिङ नमिलेको कर्मचारीलाई हटाउनु सरकारको नीति र सञ्चालनसँग सम्बन्धित भएको भन्दै अहिलेको सरकारप्रति गरिएको आलोचना दोहोरो मापदण्ड भएको बताए। भट्टराईले प्रधानमन्त्री प्रचण्डले विगत सम्झनुपर्ने र बेथितिको उदाहरण आफैंले पनि राखिसकेको भन्दै आलोचकहरूलाई आत्मसमिक्षा गर्न आग्रह गरे।


























