पोखरा, २५ वैशाख। पोखरामा भव्यताका साथ जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पावन अवसरमा एक सयभन्दा बढी बटुकहरूको सामूहिक व्रतबन्ध (उपनयन) संस्कार वैदिक विधिपूर्वक सम्पन्न भएको छ। हिन्दु संस्कृतिमा जीवनको एक अत्यन्त महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्धलाई देशभरका विभिन्न जिल्लाबाट आएका अभिभावकहरूले आफ्ना सन्तानका लागि कोटिहोमको पवित्र भूमिमा सम्पन्न गराएका हुन्।
प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, एक सयभन्दा बढी बटुकहरूले यस सामूहिक कार्यक्रममा भाग लिई यज्ञोपवीत धारण गरेका छन्। अभिभावकहरूले नेपालकै प्रमुख तीर्थस्थलको रूपमा परिचित हुँदै गएको कोटिहोमको आध्यात्मिक वातावरणमा आफ्ना सन्तानको व्रतबन्ध जस्तो पवित्र कर्म गराउन पाउनुलाई सौभाग्य मानेको बताएका छन्। सम्पूर्ण कर्मकाण्डका व्यवस्थापक पं. चूडामणि पाण्डेले दक्ष पण्डित गुरुजनहरूको निर्देशनमा शास्त्रोक्त विधिअनुसार व्रतबन्ध कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, प्रत्येक बालकलाई यज्ञोपवीत धारण गराइनुका साथै ब्राह्मणका तीन महत्त्वपूर्ण ऋण—देवऋण, ऋषिऋण, र पितृऋण—को बारेमा विस्तृत जानकारी दिइएको थियो। यस पवित्र संस्कारको अवसरमा ग्रहशान्ति, वेद पाठ, वैदिक मन्त्रोच्चारण, र विशेष हवनजस्ता धार्मिक अनुष्ठानहरू पनि विधिपूर्वक सम्पन्न गरिएका थिए।
सामूहिक रूपमा व्रतबन्ध गर्दा धार्मिक महत्त्व अक्षुण्ण रहनुका साथै समय, खर्च र व्यवस्थापनमा समेत उल्लेख्य सहजता भएको सहभागी अभिभावक तथा आफन्तजनको बुझाइ छ। यसअघि पनि महायज्ञ स्थलमा दर्जनौं बालकहरूको व्रतबन्ध सफलतापूर्वक सम्पन्न भइसकेको छ। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले महायज्ञको यस अनुपम अवसरलाई सदुपयोग गर्दै थुप्रै अभिभावकहरूले आफ्ना सन्तानको व्रतबन्ध गराउन तयारी गरिरहेको जानकारी दिनुभयो।
महायज्ञ स्थलमा सामूहिक व्रतबन्ध मात्र नभई चार वेद, अठार पुराण र एक सय आठ श्रीमद्भगवत पाठ पारायणको श्रवण, दैनिक हवन, पार्थिव शिवलिङ्ग पूजा, रुद्राभिषेक, तुलादान, शुभ विवाह, भूमि पूजन, चौरासी पूजन लगायतका विभिन्न धार्मिक गतिविधिहरू निरन्तर सञ्चालन भइरहेका छन्। देशभरबाट पाल्नुभएका चार सयभन्दा बढी ब्राह्मणहरूले दैनिक रूपमा भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। आयोजकले यस पावन भूमिमा आयोजित शतकुण्डीय कोटिहोमको हवन कुण्डका लागि आवश्यक जौ, तिल, घिउ आदि हवन सामग्री दान गरी पुण्य आर्जनको अवसरलाई सदुपयोग गर्न सम्पूर्ण भक्तजनहरूमा आग्रह गरेको छ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले यस पुण्य कार्यक्रममा सहभागी भई धर्मलाभ लिन समस्त श्रद्धालुहरूलाई आह्वान गर्नुभएको छ। “यो हवन कार्य ४२ दिनसम्म निरन्तर चल्नेछ,” उहाँले भन्नुभयो, “हवनका लागि आवश्यक सामग्रीहरू ल्याएर यस महान कार्यमा सहभागी हुने अवसर नगुमाउनुहोला।” भक्तजनहरूले आ-आफ्नो घर वा क्षेत्रमा उपलब्ध हुने घिउ, तिल, जौ, तेल, सर्वौषधी, खुदो, पीपल, वर, आँप, समी, डुम्री, तीतेपाती, खयर, साल, बयर, गिँदर, बेल, साल सल्ला, देवदारु, रुदिलो, श्रीखण्ड र अन्य सुगन्धित द्रव्यलगायत हवनमा प्रयोग हुने विशेष जडीबुटीहरू तथा दाउराहरू ल्याएर सहयोग गर्न सकिने आयोजकले जनाएको छ। यही वैशाख १९ गतेदेखि सुरु भएको यो महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार, एक सयवटा हवन कुण्डमा प्रत्येक कुण्डमा तीन-तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्रको विधिबाट निरन्तर कोटी हवन गरिरहेका छन्। हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका पिता मनिराम भण्डारी र माता जानका भण्डारी यजमानको रूपमा रहनुभएको छ भने अन्य मण्डपहरूमा पनि ब्राह्मणहरूले नित्य हवन गरिरहेका छन्। महायज्ञमा प्रवचनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज जस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। साथै, राष्ट्रिय भजन प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पराङ्कुशजीद्वारा रामायण प्रवचन र वाचिका सुप्रियाद्वारा दैनिक कथा वाचन पनि जारी रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो। पोखरा १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालित यस कोटिहोममा संघीय तथा प्रदेश सांसद, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूको उपस्थिति पनि दिन प्रतिदिन बढ्दो छ।
































