पोखरा, २९ वैशाख। भारत र पाकिस्तानबीच पछिल्लो समय उत्पन्न सैन्य तनावपछिको अवस्थालाई शान्त बनाउँदै दीर्घकालीन स्थायीत्वको दिशामा आज दुबै देशका सेनाबीच महत्वपूर्ण वार्ता हुने भएको छ। दिउँसो १२ बजे सुरु हुने भनिएको यस संवादमा संघर्षविरामका कार्यान्वयन, शर्तहरू तथा भविष्यमा हुने सम्भावित द्वन्द्वलाई न्यूनीकरण गर्नका लागि रणनीतिक योजना बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानमा रहेको आतङ्कवादी शिविरहरूमा ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै नौवटा शिविरमा आक्रमण गर्‍यो। यस कारबाहीमा १०० भन्दा बढी आतङ्कवादीको मृत्यु भएको भारतको दाबी छ। उक्त कारबाहीपछि सीमा क्षेत्रमा गोलीबारी र तनाव चुलिँदै गएको थियो।

दुवै पक्षको सहमतिमा १० मे साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको भए पनि प्रारम्भिक दिनहरूमा सीमामा ड्रोन गतिविधि र गोलीबारी कायम रहेको थियो। दुबै पक्षले संघर्षविराम उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाएका थिए। यद्यपि आइतबार बिहानदेखि स्थिति शान्त देखिएको छ।

भारतले आजको वार्तालाई पूर्णरूपमा द्विपक्षीय संवादको प्रक्रिया भनेको छ र तेस्रो पक्षको कुनै पनि मध्यस्थता आवश्यक नरहेको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको दाबी भारतले अस्वीकार गरिसकेको छ।

संयुक्त राष्ट्रसंघलगायत विभिन्न अन्तर्राष्ट्रिय संस्था र शक्तिहरूले संघर्षविरामलाई स्वागत गर्दै यसबाट दीर्घकालीन शान्तिको ढोका खुल्ने आशा व्यक्त गरेका छन्। आजको वार्ताबाट स्पष्ट नतिजा निस्कने अपेक्षा गरिएको छ, जसले सीमा क्षेत्रमा स्थायीत्व र सहअस्तित्वको नयाँ सम्भावना खोल्नेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0