पोखरा, २९ वैशाख। भारतीय सेनाले ‘अपरेशन सिन्दूर’को सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै यस अभियानमा सयभन्दा बढी आतंकवादी मारिएको दाबी गरेको छ। आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत सेनाले रणनीतिक रूपमा सञ्चालन गरिएको यस सैन्य अभियानमा पुलवामा आक्रमण र आईसी ८१४ विमान अपहरणजस्ता घटनामा संलग्न उच्च तहका आतंकवादीहरूलाई निशाना बनाइएको स्पष्ट पारेको हो।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल राजीव घई, वायुसेनाका एयर मार्सल एके भारती, नौसेनाका भाइस एडमिरल एएन प्रमोद तथा मेजर जनरल एसएस शारदाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै अभियानबारे जानकारी दिएका थिए। जनरल घईका अनुसार आतंकवादीहरू लुकेको नौ स्थानमा एकैपटक लक्षित हमला गरी सटीक आक्रमण गरिएको थियो। ती कारवाहीमा १०० भन्दा बढी आतंककारी मारिएको र थुप्रै घाइते भएको जनाइएको छ।

अभियानको क्रममा मारिएका युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमदजस्ता उच्च नेतृत्वस्तरका आतंकवादीहरू लामो समयदेखि भारत सरकारको प्राथमिक सूचिमा रहेका थिए। उनीहरू भारतको इतिहासमै गम्भीर ठहर गरिएका पुलवामा विस्फोट र आईसी ८१४ अपहरण घटनामा संलग्न रहेका थिए।

सेनाले यो अपरेशन भारतको राष्ट्रिय सुरक्षाका दृष्टिकोणले निकै महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा यस्ता ठोस रणनीति अपनाउने संकेत पनि दिएको छ। अपरेशनको विस्तृत विवरण अझै सार्वजनिक गरिन बाँकी भए पनि भारतीय सुरक्षावृत्तले यसलाई ‘आतंकविरुद्धको निर्णायक सफलता’का रूपमा व्याख्या गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0