Manila, Philippines - Feb 25, 2018 : Eleveted, night view of Makati, the business district of Metro Manila, Philippines

पोखरा, २९ वैशाख। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनासम्मको तथ्यांकले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सुदृढ रहेको स्पष्ट देखिएको छ। विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, विप्रेषण आप्रवाहलगायतका सूचकहरू सकारात्मक देखिएसँगै आन्तरिक क्षेत्र समेत विस्तारोन्मुख अवस्थामा रहेको संकेत गरिएको छ।

राष्ट्र बैंकका अनुसार हाल देशमा १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ। चैत मसान्तसम्म सञ्चिति २४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो असार मसान्तको तुलनामा १८.९ प्रतिशतले वृद्धि हो। अमेरिकी डलरमा हेर्दा सञ्चिति १७ अर्ब ६३ करोड पुगेको छ। यो सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३९.७ प्रतिशत बराबर रहेको बैंकले जनाएको छ।

शोधनान्तर स्थिति पनि सकारात्मक रहँदै तीन खर्ब ४६ अर्ब रुपैयाँले बचतमा पुगेको छ। चालु खाता दुई खर्ब १० अर्ब रुपैयाँले बचतमा देखिएको छ भने प्रत्यक्ष वैदेशिक लगानी पनि बढेर आठ अर्ब ९६ करोड पुगेको छ। यस्तै, खुद पूँजीगत ट्रान्स्फर सात अर्ब ७१ करोड पुगेको छ।

विप्रेषण आप्रवाह निरन्तर वृद्धि हुँदै आएको छ। साउनदेखि चैतसम्मको अवधिमा ११ खर्ब ९१ अर्ब रुपैयाँ बराबर विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले वृद्धि हो। यही अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या झन्डै ३ लाख ५८ हजार पुगेको छ।

यद्यपि सेवा खाता भने घाटामा देखिएको छ। विशेषगरी नेपाली विद्यार्थी तथा घुमफिरकर्ताहरूले उल्लेख्य विदेशी मुद्रा खर्च गरेका छन्। चालु आवको ९ महिनामा शिक्षाका लागि मात्र एक खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ। भ्रमण व्ययमा १ खर्ब ७० अर्बभन्दा बढी खर्च भइसकेको छ। घुम्न जानेहरूले ६६ अर्बभन्दा बढी खर्च गर्दा नेपाल आउने पर्यटकबाट ६६ अर्ब ५४ करोड आम्दानी भएको देखिएको छ। परिणामस्वरूप, खुद सेवा आय ८१ अर्ब घाटामा देखिएको छ।

यसबीच कर्जा प्रवाहमा पनि वृद्धि भएको छ। ९ महिनामा तीन खर्ब ६१ अर्बभन्दा बढी कर्जा प्रवाह भइसकेको छ। धितोपत्र बजार पूँजीकरण ४४ खर्ब नाघेको छ भने निक्षेप ३ खर्ब ६८ अर्ब पुगेको छ। बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाह र ब्याजदर स्थिर देखिएको छ। सरकारको खर्च र राजस्व संकलन पनि बढ्दै गएको देखिन्छ, यद्यपि लक्ष्यअनुसारको परिणाम अझै आउन बाँकी छ।

नेपालको हालको आर्थिक संकेतकले समग्रमा सन्तुलित र सुधारोन्मुख आर्थिक परिदृश्य प्रस्तुत गरिरहेको छ, जसले भविष्यमा दीर्घकालीन आर्थिक स्थायित्वको सम्भावना देखाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0