पोखरा, ३० वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानविरुद्धको आक्रमण प्रभावकारी र सफल भएको दाबी गर्दै त्यसले पाकिस्तानको आतङ्कवादी संरचनालाई ध्वस्त बनाएको बताएका छन्। सोमबार बेलुकी राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले पाकिस्तानको आतङ्कको केन्द्रमै हमला गरेर छातीमै चोट पुर्‍याएको दाबी गरे।

उनका अनुसार भारतले जम्मु कश्मिरमा भएको आतङ्कवादी हमलाको जवाफस्वरूप पाकिस्तान प्रशासित क्षेत्र र पाकिस्तानमै हवाई आक्रमण गरेको हो। मोदीले भने, “पाकिस्तानको घमण्ड थियो कि उसले युद्ध जित्न सक्छ, तर भारतले उसको छातीमै वार ग¥यो। ड्रोन र मिसाइलको सटिक आक्रमणले पाकिस्तानी वायु सेनाको एयर बेस ध्वस्त पारियो।”

प्रधानमन्त्री मोदीले भारतको आक्रामक कारबाहीपछि पाकिस्तान विश्वका देशहरूमा तनाव कम गर्न आग्रह गर्दै रक्षात्मक अवस्थामा पुगेको आरोप पनि लगाए। उनका अनुसार भारतको हवाई कारबाहीपछि शनिबार पाकिस्तानले भारतीय सेनाको डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसनसँग सम्पर्क गरेको थियो।

उनले भारतको कारबाहीबाट पाकिस्तानका आतङ्ककारी शिविरहरू ध्वस्त भएको र सयभन्दा बढी खुंखार आतङ्ककारी मारिएको दाबी गरे। जम्मु कश्मिरमा वैशाख १० गते भएको गोलीकाण्डमा एक नेपालीसहित २६ जनाको विभत्स हत्या भएपछि भारतले दुई सातापछि कारबाही थालेको हो।

मोदीले उक्त कारबाहीलाई राष्ट्रको आत्मरक्षासँग जोड्दै पाकिस्तानलाई आतङ्कको अड्डा बनाएको आरोप लगाए। उनले भने, “पाकिस्तानलाई अन्दाज पनि थिएन कि भारत यति छिटो, यति सटिक जवाफ दिनेछ। त्यसैले उसले बाँच्नका लागि दुनियाँसँग सहयोग माग्न थाल्यो।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0