पोखरा, ३१ वैशाख। काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको सवा अर्ब रुपैयाँ बराबरको ठगी प्रकरणमा मुछिएकी नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी र संगठित अपराधको अभियोगसहित ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मंगलबार जिल्ला अदालतमा पुरक अभियोजनमार्फत मुद्दा दायर गरेको हो।

भोजपुर स्थायी घर भई हाल काठमाडौं बसोबास गर्दै आएकी राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिको तत्कालीन सहसचिवको जिम्मेवारीमा रहेकी थिइन्। उनी वैशाख १३ गते काठमाडौंबाटै पक्राउ परेकी थिइन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध अदालतमा मुद्दा दायर हुँदा राईसहित पाँचजनालाई उन्मुक्ति दिइएको थियो। सोही निर्णयप्रति व्यापक आलोचना भएपछि सत्ता साझेदार नेपाली कांग्रेसका नेतृसमेत रहेकी राईलाई कारबाहीको दायरामा ल्याइएको हो।

जिल्ला अदालतमा राईलाई मंगलबार नै उपस्थित गराइए पनि थुनछेक बहस बुधबारदेखि प्रारम्भ गरिनेछ। उनलाई त्यसअघि जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ। सरकारी वकिल कार्यालयका अनुसार राईसहित संलग्न व्यक्तिहरूमाथि ६ सय ९० जना बचतकर्ताको जम्मा १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको अभियोग लागेको छ।

सांसद राई कांग्रेस सभापति शेरबहादुर देउवानिकट जनजाति क्लस्टरबाट निर्वाचित केन्द्रीय सदस्य हुन्। उनीविरुद्धको कारबाहीले राजनीतिक दलभित्र समेत आन्तरिक दबाब र जनदबाबलाई सम्बोधन गरिएको देखिन्छ। सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता र राजनीतिक संरक्षणले जनताको विश्वास गुमाउँदै गएको बेला यो घटनाले पुनः राजनीतिज्ञको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0