पोखरा, ३१ वैशाख। काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २४ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनपछि पक्राउ परेका मिश्रको यो आठौं हिरासत म्याद थप हो। अदालतले मंगलबार जिल्ला प्रहरी परिसरको मागअनुसार हिरासत अवधि थप्ने अनुमति दिएको हो।
उनीसँगै चैत २८ गते भारतको आसामबाट पक्राउ परेका मेडिकल व्यवसायी तथा एमव् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई पनि थप पाँच दिन हिरासतमा राख्ने निर्णय गरिएको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश मोना सिंहको इजलासले मिश्र, प्रसाईंसहित २४ जनालाई अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राख्न आदेश दिएको हो।
तीनकुनेस्थित सो प्रदर्शनको क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको घटनालाई लिएर प्रहरीले राजावादी नेताहरूलाई पक्राउ गरेको थियो। मिश्र चैत १५ गतेदेखि हिरासतमा छन् भने प्रसाईं चैत २८ गते पक्राउ परेपछि काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएका छन्।
मंगलबारसम्म मिश्र प्रहरी हिरासतमा पुगेको ४६ दिन भएको छ। मिश्रको परिवारले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पनि दायर गरिसकेको छ। मिश्रले आफूमाथि राजनीतिक प्रतिशोध स्वरूप कारबाही गरिएको दाबी गर्दै बेकसुर रहेको बताएका छन्।
यसअघि मिश्रलाई चैत २५ मा सातौं पटक ५ दिनको लागि हिरासतमा राख्ने अनुमति दिइएको थियो। अनुसन्धान अझै नसकिएको जनाउँदै प्रहरीले हिरासत अवधि बढाउँदै आएको छ। अदालतले हरेकपटक प्रहरीको मागअनुसार अनुमति दिएको भन्दै न्यायिक निष्पक्षतामाथि पनि प्रश्न उठ्न थालेको छ।






























