पोखरा, ३१ वैशाख। अमेरिका र साउदी अरबबीच हालै सम्पन्न भएको हतियार बिक्री सम्झौतालाई इतिहासकै सबैभन्दा ठूलो रक्षा सम्झौताको रूपमा लिइएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सार्वजनिक गरेको फ्याक्ट सीटअनुसार, दुई देशबीच १४२ अर्ब अमेरिकी डलर अर्थात् करिब एक नील ९३ खर्ब रुपैयाँ बराबरको हतियार बिक्री सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार, साउदी अरबले अमेरिका निर्मित अत्याधुनिक युद्ध उपकरण र सेवा खरिद गर्नेछ। सम्झौतामा एक दर्जनभन्दा बढी अमेरिकी रक्षा कम्पनीको संलग्नता रहने जनाइएको छ। साथै, साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर (आठ नील १६ अर्ब रुपैयाँ) बराबरको लगानी गर्ने प्रतिबद्धता पनि जनाएको छ।

सम्झौतापछि राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबको चारदिने कूटनीतिक भ्रमणमा निस्किएका छन्। मंगलबार रियाद पुगेका ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेट गरेका थिए। भेटपछि आयोजित साउदी–अमेरिका इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गर्दै ट्रम्पले राजकुमार सलमानलाई ‘असाधारण व्यक्ति’को संज्ञा दिएका थिए।

राष्ट्रपति ट्रम्पले उक्त सम्झौतालाई अमेरिका र साउदीबीच ८० वर्ष पुरानो रणनीतिक साझेदारीको प्रतीकको रूपमा व्याख्या गरेका छन्। उनले आठ वर्षअघि पनि त्यही स्थानबाट साउदीलाई आतंकवादको अन्त्यको अपेक्षा राखेको स्मरण गर्दै यसपटक नयाँ अध्याय सुरु भएको बताएका छन्।

यो सम्झौताले खाडी क्षेत्रमा अमेरिका र साउदीबीचको सुरक्षा सहकार्यलाई अझ बलियो बनाउने विश्वास गरिएको छ। ट्रम्पको दोस्रो कार्यकालको यो पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय कूटनीतिक यात्रा हो, जसले अमेरिकी रक्षा उद्योग र खाडी मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने संकेत दिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0