पोखरा, २ जेठ। गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गण्डकी र बागमती प्रदेशका सम्बन्धित मन्त्री, सचिव, निर्देशक तथा उच्च अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रदेशस्तरमा श्रम, रोजगार र उद्यम प्रवद्र्धनका नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका अभ्यासहरू साझा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले युवालाई स्वदेशमै सीप विकास गराई रोजगारी सिर्जना गर्ने अभियानमा गण्डकी सरकार सक्रिय रहेको जानकारी गराउँदै सीप विकास तालिम केन्द्र र व्यवसायिक तालिम प्रतिष्ठानमार्फत तालिम प्रवाह भइरहेको उल्लेख गरे। साथै, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन कानुन निर्माणको तयारी भइरहेको पनि मन्त्री थापाले जानकारी दिए।
उनले उद्यमशीलता प्रवद्र्धन, राइट शेयरिङ कार्यविधि लगायतका माध्यममार्फत गण्डकी प्रदेशमा पार्ट टाइम रोजगारीको ढोका खोलिने बताए। सीपमूलक शिक्षा र उद्यममैत्री वातावरणले वैदेशिक रोजगारीजन्य सामाजिक असन्तुलनलाई न्यूनीकरण गर्न सकिने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकारहरूले एक–अर्काबाट सिक्ने अवसरलाई उपयोग गर्नुपर्ने बताए। उनले प्रदेशस्तरीय राम्रा अभ्यासहरू जनताको माझ पुर्याउनुपर्नेमा जोड दिँदै जनजीविकासँग प्रत्यक्ष सम्बन्धित कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
कार्यक्रममा दुबै प्रदेशले श्रम, रोजगार र उद्यमशीलताको क्षेत्रमा गरेका प्रयास र सामी कार्यक्रममार्फत हासिल उपलब्धिहरूको संक्षिप्त प्रस्तुति दिएका थिए। सहभागीहरूको भनाइअनुसार यस्तो प्रकारका साझा सिकाइ कार्यक्रमले प्रदेशबीच अनुभव साटासाट गर्दै श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन, उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनामा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ।


























