पोखरा, ४ जेठ। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट आएका सञ्चारकर्मीलाई विशेष सम्मान गरिएको छ। महायज्ञको प्रचार–प्रसारमा सक्रिय योगदान पुर्‍याएको कदर गर्दै एक सयभन्दा बढी सञ्चारकर्मीलाई कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो। महायज्ञ प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार यो सम्मान कार्यक्रम अझै केही दिनसम्म जारी रहनेछ।

सञ्चारकर्मी सम्मान कार्यक्रम महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज, वरिष्ठ ज्योतिषविद् हरिशरण शास्त्री र सहसंयोजक गंगाधर पराजुलीले संयुक्त रूपमा सञ्चालन गरेका थिए। सम्मानित सञ्चारकर्मीहरूले कोटिहोमको सम्मानले आफूहरूमा थप उत्साह र जिम्मेवारीको भावना जागृत गराएको प्रतिक्रिया दिएका छन्।

कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवारमात्रै झण्डै एक लाख भक्तजनले दर्शन गरेको आयोजकले जनाएका छन्। देशभरका ३५ जिल्लाबाट भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको यस महायज्ञमा भक्तजनको उपस्थिति, धार्मिक क्रियाकलाप, साधु सन्तको प्रवचन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति र विशाल आयोजनाले पोखरालाई अध्यात्मिक केन्द्रको रुपमा चिनाएको छ।

महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनहरूको अपार जनसांख्यिक उपस्थितिले कोटिहोमलाई ऐतिहासिक, अद्वितीय र अविस्मरणीय बनाएको छ। उनका अनुसार न भूतपूर्वमा यस्तो कोटिहोम आयोजना भएको थियो न भविष्यमा यसले पुनः दोहोरिने निश्चित छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको नेतृत्वमा सुरु भएको शतकुण्डीय महायज्ञले हिन्दू धर्म जागरण अभियानमा उल्लेखनीय भूमिका खेलेको बताइएको छ।

शनिवार आयोजित विशेष कार्यक्रमअन्तर्गत महायज्ञको प्रचार प्रसारमा योगदान पु¥याएका एक सयभन्दा बढी सञ्चारकर्मीलाई कदर पत्र र दोसल्ला ओढाई सम्मान गरिएको छ। सम्मान कार्यक्रममा श्रीमद्भागवत प्रवक्ता हरिशरण शास्त्री, सहसंयोजक गंगाधर पराजुली लगायतले सञ्चारकर्मीलाई सम्मान गरे। सञ्चारकर्मीले उक्त सम्मानले आफूहरूलाई थप प्रेरणा दिएको जनाउँदै कोटिहोमको सफलताको लागि प्रचार–प्रसारमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।

महायज्ञमा शनिवार प्रख्यात साधु सन्तहरू शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती र महामण्डलेश्वर वाल सन्त रामेश्वरानन्द सरस्वतीले कथा वाचन र शुभकामना सन्देश दिएका थिए। यससँगै विन्ध्यवासिनी पिठाधीश्वर निषेशानन्द गुरु महाराजको प्रवचन पनि उल्लेखनीय रह्यो।

यस महायज्ञमा चौरासी पूजन, सवा करोड पार्थिव शिवलिङ्ग निर्माण, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ श्रवण, भूमि पूजन, तुला दान, रुद्राभिषेक महा अनुष्ठान, अति र लघु रुद्री लगायतका धार्मिक क्रियाकलापहरू पनि जारी छन्। ४ सयभन्दा बढी ब्राह्मणले हरेक दिन आहुति प्रदान गरिरहेका छन् भने हवन सामग्रीको दान र हवन कुण्ड परिक्रमाको पनि व्यवस्था गरिएको छ।

महायज्ञको विशेष आकर्षणका रुपमा भजन गायक नन्दकृष्ण जोशी, राधिका हमाल र पूर्णकला बिसीले भजनमार्फत उपस्थित भक्तजनलाई भावविभोर बनाए। साथै पत्रकार ऋषि धमलाले उद्योगी, व्यवसायीहरूलाई दानद्वारा सहभागिताका लागि आह्वान गरेका थिए।

भोलिदेखि महायज्ञका संकल्पकर्ता विजय कृष्णमूर्तिजी महाराजले १३ गतेसम्म श्रीमद्भागवत कथा वाचन गर्नेछन्। त्यसैगरी चैतन्यकृष्ण महाराजले जेठ ४ देखि ११ गतेसम्म प्रवचन दिनेछन्। आगामी दिनहरूमा राजु ढकाल, रमेश सापकोटा, पल्पसा डंगोल ‘चम्सुरी’, र महानायक राजेश हमालको सहभागिता रहने छ।

कोटिहोममा विभिन्न जिल्लाबाट आएका संस्कृतिक समूहहरूको झाँकी, लाठी नाच, झुमरा लगायतका प्रस्तुति, भजन प्रतियोगिता, रक्तदान कार्यक्रम र खुला वक्तृत्वकला प्रतियोगिता पनि आयोजना हुँदैछन्।

पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गामा सञ्चालन भएको कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले आगामी दिनहरूमा देशका पाँचै प्रदेश तथा विदेशमा पनि यस्तै कोटिहोम आयोजना हुने जनाएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0