पोखरा, ५ जेठ। संघीय संसद्का दुवै सदनको बैठक आज निर्धारित समय अनुसार बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि तोकिएको छ भने राष्ट्रियसभाको बैठक अपराह्न १:१५ मा प्रारम्भ हुनेछ।
प्रतिनिधिसभाको आजको बैठकमा गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची समावेश गरिएको छ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने तयारी छ। सो विधेयकमाथि पूर्वाधार विकास समितिको प्रतिवेदनसहित छलफल गरिनेछ।
उता राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ पेस गर्नुहुनेछ। सरकारले नेपाली चलचित्र क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले यो विधेयक ल्याएको बताइएको छ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभामा राख्ने सम्भावना रहेको छ। यसका साथै, राष्ट्रियसभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा पनि मन्त्रीहरूले उत्तर दिने कार्यतालिका तय गरिएको छ।
आजको दुवै सदनको बैठक विधेयक पारित र मन्त्रिस्तरीय जवाफहरूको दृष्टिकोणले महत्वपूर्ण हुने देखिएको छ।































