पोखरा, ५ जेठ। मौसम अनुकूल बनेसँगै आइतबार एकैदिन १३५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको जारी आरोहण सत्रमा एकैदिनको यो सबैभन्दा धेरै सङ्ख्या हो। पर्यटन विभागका अनुसार ‘म्याक्सिमम समिट प्लान’ अन्तर्गत मे १८ तारिखका दिन सर्वाधिक संख्यामा आरोहीहरू सर्वोच्च शिखरमा पुग्न सफल भएका हुन्।

सगरमाथाको आधारशिविरमा रहेको विभागको अस्थायी फिल्ड कार्यालयले मौसम खुलेपछि आरोहणका गतिविधि तीव्र भएको जानकारी दिएको छ। तीन दिनयता लगातार धेरै संख्यामा आरोही चुचुरोतर्फ अघि बढिरहेका छन् भने सोमबार पनि उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथा चढ्ने तयारी गरेका छन्।

विभागका निर्देशक हिमाल गौतमका अनुसार अहिलेसम्म २०० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। उहाँले आरोहण सुरुका दिनहरूमा मौसमले साथ नदिए पनि पछिल्लो समय मौसम स्थिर हुँदा आरोहण सहज बन्दै गएको बताउनुभयो।

यसैबीच, फोटो पत्रकार तथा किर्तिमानी नेपाली आरोही पूर्णिमा श्रेष्ठले आइतबार बिहान पाँचौं पटक सगरमाथा चढ्न सफल भएकी छिन्। गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलोपटक सगरमाथा चढेकी थिइन्। गत वर्ष एउटै सिजनमा तीन पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेकी उनी अहिले पनि उच्च मनोबलसहित पर्वतारोहणमा सक्रिय छन्।

पर्यटन विभागको तथ्याङ्कअनुसार चालु वसन्त याममा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित कुल ४६८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन्। यो सङ्ख्याले सगरमाथा आरोहणमा विदेशी तथा स्वदेशी उत्साह बढ्दो रहेको संकेत गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0