पोखरा, ७ जेठ। देशभर पछिल्ला दिनहरूमा बादल लाग्ने र छिटपुट वर्षा भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण गरेको छ। अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुले उत्पन्न गरेको प्रभावले नेपालमा अहिले व्यापक प्री-मनसुन वर्षा भइरहेको मौसमविद्हरूको भनाइ छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिलेको वायुमण्डलीय अवस्था र पानी पर्ने तरिका हेर्दा यस वर्ष मनसुन ढिलो नहुन सक्ने अनुमान गरिएको छ। वरिष्ठ मौसमविद प्रतिभा मानन्धरका अनुसार हाल देखिएको वर्षाको क्रम अझै केही दिन जारी रहनेछ। अर्का वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले हाल देखिएको जलवाष्पयुक्त हावाको गतिविधिले मनसुनको प्रारम्भिक लक्षण देखाएको बताए। तर, उनले प्री-मनसुन वर्षाको आधारमा मनसुन कहिले भित्रिन्छ भन्ने ठम्याउन कठिन हुने स्पष्ट पारे।
नेपालमा सामान्यतः १३ जुनतिर मनसुन भित्रिने र २ अक्टोबरतिर बाहिरिने अपेक्षा गरिन्छ। यो अवधिमा झण्डै ११२ दिन मनसुन सक्रिय रहने गर्छ। मनसुन कृषि क्षेत्रको लागि विशेष महत्वको मानिन्छ, किनभने यस अवधिमा पर्याप्त पानी परेमा विशेषगरी धान उत्पादनमा वृद्धि हुन्छ। तर, मनसुनसँगै आउने बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोपले जनधनमा ठूलो क्षति पुर्याउने खतरा पनि रहन्छ।
मनसुन दक्षिण एशियामा प्रायः सोमालियातिरका हावाहरु भूमध्य सागर र हिन्द महासागर हुँदै प्रवेश गर्छन्। ती हावा बङ्गालको खाडी र अरब सागर पार गर्दै नेपालसम्म आइपुग्ने गर्छन्। त्यसमा पनि बङ्गालको खाडीतर्फको हावाले नेपालमा मुख्य रूपमा मनसुन भित्र्याउने गर्छ। हाल मनसुनी हावा श्रीलंकासम्म आइपुगेको मौसमविद् अर्यालको भनाइ छ, जसले भारतको केरला हुँदै नेपालको पूर्वी भागतिर प्रवेश गर्ने सम्भावना छ।
मौसमविद्हरूका अनुसार, यदि हावाको गतिमा कुनै अवरोध आएन भने मनसुन यो वर्ष समयमा भित्रिन सक्छ। यस वर्षको मनसुन अवधिमा नेपालमा औसतभन्दा बढी वर्षा र तापक्रम हुने पनि प्रारम्भिक पूर्वानुमान गरिएको छ।
































