पोखरा, ७ जेठ। नेपाली बजारमा सुनको मूल्यमा बुधबार एकैदिन पाँच हजार रुपैयाँको ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८ सय रुपैयाँमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा निकै ठूलो उछाल हो।

मंगलबार सुन प्रतितोला १ लाख ८४ हजार ८ रुपैयाँमा कारोबार भएको थियो। बुधबार पाँच हजार रुपैयाँको वृद्धिसँगै सुनको मूल्यले नेपाली बजारमा अहिलेसम्मकै नयाँ उचाइ छोएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र उतारचढाव र डलरको भाउमा आएको परिवर्तनका कारण नेपाली बजारमा समेत यसको प्रत्यक्ष असर देखिएको हो।

सुनको मूल्य वृद्धिसँगै चाँदीको भाउमा पनि वृद्धि भएको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको छ। मंगलबार प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा निरन्तर वृद्धिको संकेत देखिएको छ।

सुनचाँदीको मूल्य वृद्धिले आम उपभोक्तासँगै व्यवसायीहरूलाई समेत असर पर्ने देखिन्छ। विशेष गरी विवाह, पूजापाठ र गहना खरिद गर्ने सिजनमा मूल्य अत्यधिक बढ्दा कारोबारमा सुस्तता आउने जोखिम समेत बढ्ने अनुमान गरिएको छ। नेपाली बजारमा लगातार महँगिंदै गएको सुनचाँदीको मूल्यले सर्वसाधारणको पहुँचमा असर पारेको भन्दै उपभोक्ताहरूले चिन्ता व्यक्त गरिरहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0