पोखरा, ७ जेठ। गाउँस्तरका पर्यटन व्यवसायलाई शहर बजारसँग जोड्दै ग्रामीण पर्यटनको समग्र प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यसहित पोखरामा तेस्रो गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा र गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सहआयोजनामा मेला यही जेठ ९ र १० गते पोखरामा हुनेछ।
मेलाको माध्यमबाट गाउँमा पलायन भइरहेको युवा श्रमशक्तिलाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्दै उनीहरूलाई गाउँमै स्थायी बनाउने लक्ष्य लिइएको छ। त्यस्तै, विदेशी पर्यटकलाई गाउँका पर्यटकीय सम्पदासँग जोड्दै उनीहरूको बसाइ अवधि र खर्च बढाउने प्रयास पनि मेलाको उद्देश्य हो। मेलामा गोरखा र म्याग्दी बाहेक गण्डकीका अन्य जिल्लाका २५ गाउँ पर्यटन व्यवसायीको सहभागिता रहने पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले जानकारी दिए।
मेलामा सामुदायिक होमस्टे स्टल, पर्यटन व्यवसायीको सहभागिता, टक शो, प्रचारप्रसार सामाग्री वितरण, र विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। मेलाको माध्यमबाट सामुदायिक होमस्टे तथा पर्यटन सेवाबारे जानकारी दिनुका साथै व्यवसायी र ग्राहकबीच प्रत्यक्ष सम्पर्कको अवसर प्रदान गरिनेछ। साथै निजी तथा सरकारी क्षेत्रको लगानी आकर्षण गर्दै प्रदेशको समृद्धिमा योगदान पुर्याउने दीर्घकालीन लक्ष्य पनि मेलाले लिएको छ।
मेलाको सहकार्यमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, होमस्टे फेडेरेसन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद् रहेका छन्। पत्रकार सम्मेलनमा भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकोटाले मेलाले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।


























