पोखरा, ७ जेठ। पोखरा महानगरपालिकामा सञ्चालनमा आएको मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी देखिएको छ। दुई वर्ष अघिदेखि पाइलट रूपमा वडानं. १६, १९, २०, २५ र ३० मा लागू गरिएको यस परियोजनाले गर्भवती, सुत्केरी महिला तथा नवजात शिशु र बालबालिकाहरूको स्वास्थ्य सुधारमा उल्लेखनीय प्रगति देखाएको हो।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्ज, पोखरा–कोमागाने नागरिक मैत्री एसोसिएसन र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको यस परियोजनाले मातृ शिशु स्वास्थ्य प्रवर्द्धनसँगै खोप, पोषण, नियमित परीक्षण तथा अवलोकन प्रणालीलाई सुदृढ गरेको छ। विशेषगरी गर्भावस्था, प्रसूति तथा सुत्केरी अवस्थाका महिलाहरूका लागि निरन्तर हेरचाह सहितको सेवा प्रदान गरिएको छ।

महानगर प्रमुख धनराज आचार्यले पाइलट परियोजनाको सफलतालाई ध्यानमा राख्दै यसलाई महानगरका सबै वडामा विस्तार गर्ने तयारी भएको जानकारी दिएका छन्। मातृ शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यका साथ स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको उनले बताए। उनले नागरिकको स्वास्थ्य सुरक्षामा यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेकोमा जोड दिए।

महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङले महिला तथा नवजात शिशुको स्वास्थ्य चुनौतीपूर्ण विषय भएको बताउँदै जनचेतनामूलक कार्यक्रम र प्रशिक्षण आवश्यक रहेको धारणा राखिन्। जनस्तरसम्म प्रभावकारी जानकारी पुगोस् भन्नका लागि हातेपुस्तिका, प्रचार सामग्री र तालिमको व्यवस्थापन हुनुपर्ने उनले उल्लेख गरिन्।

स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले परियोजनाबाट सकारात्मक परिणाम प्राप्त भएकाले यसको निरन्तरतामा ध्यान दिनुपर्ने बताए। वरिष्ठ नर्सिङ निरीक्षक सवना श्रेष्ठका अनुसार महिलाहरूको सम्पूर्ण स्वास्थ्य विवरण नियमित रूपमा कार्डमा रेकर्ड गरिने र आवश्यक सेवाहरू समन्वय गरिने गरिएको छ। परियोजना सञ्चालनमा जापानका विज्ञहरूको समेत महत्वपूर्ण भूमिका रहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0