पोखरा, ७ जेठ। शिशुवा नेवा खल: पोखरा ३० को पहलमा निर्माण गरिएको नेवारी शैलीको कलात्मक प्रवेशद्वार शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उक्त प्रवेशद्वारको उद्घाटन गरेका हुन्।
नेवारी सांस्कृतिक सम्पदाको संरक्षण र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको प्रवेशद्वार भक्तपुरका इट्टाको प्रयोगमा आधारित छ। विशेष रूपमा भक्तपुरबाटै बोलाइएको दक्ष कलाकार टोलीको परिश्रममा निर्माण सम्पन्न भएको यो प्रवेशद्वारले स्थानीय सांस्कृतिक सौन्दर्यको झल्को दिएको छ। निर्माणमा प्रयोग गरिएका सामग्री तथा शैलीले नेवार समुदायको ऐतिहासिक वास्तुकलालाई पुनः जीवित बनाएको छ।
शिशुवा नेवा खल: पोखरा ३० ले समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि र पहिचानको संरक्षण गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। यस प्रवेशद्वारमार्फत समुदायले आफ्नो कला, संस्कृति र पहिचानलाई अझ व्यापक रूपमा उजागर गर्न सक्ने अपेक्षा गरिएको छ।
प्रवेशद्वारको उद्घाटन समारोहमा पोखरा महानगरपालिका, स्थानिय बासिन्दा र नेवा खल: का पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। महानगर प्रमुख आचार्यले यस्ता सांस्कृतिक संरचनाहरूले शहरको सौन्दर्य मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचान बलियो बनाउने बताए।




































