पोखरा – मानिसको जीवनशैली, खानपान र मानसिक स्वास्थ्यले यौन जीवनमा ठूलो प्रभाव पार्छ। यौनशक्ति बढाउने कुनै चमत्कारिक खानेकुरा छ भन्ने विश्वास जनाउनेहरू धेरै छन्, तर वैज्ञानिक प्रमाणले भने यस्ता दाबीलाई सधैं पुष्टि गर्न सकेको छैन। यद्यपि, केही खानेकुराका स्वास्थ्यवर्द्धक तत्त्वहरूले अप्रत्यक्ष रूपमा यौन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
यौनशक्ति बढाउने भन्ने चर्चा गर्ने खानेकुराहरूमा ओयस्टर, डार्क चकलेट, खुर्सानी र रक्सी प्रमुख छन्। इतिहासदेखि नै यी वस्तुहरूको यौनवर्द्धक गुणको चर्चा चल्दै आएको छ। तर तिनका प्रभाव वैज्ञानिक दृष्टिकोणले जति प्रमाणित देखिन्छ, त्यति नै मिथकले भरिएका छन्।
ओयस्टरको यथार्थता
ओयस्टरलाई प्रेमकी देवी एफ्रोडाइटसँग जोडेर हेर्ने किम्वदन्तीका कारण यौनवर्द्धक मानिएको हो। इतिहास प्रसिद्ध प्रेमी क्यासानोभाले ओयस्टरको नियमित सेवन गरेको कथाले यो धारणा थप बलियो बनाएको छ। वैज्ञानिक अनुसन्धानले भने ओयस्टरमा प्रशस्त मात्रामा जींक पाइने भएकाले टेस्टोस्टेरोन उत्पादनमा सहयोग पुर्याउँछ र पुरुषको प्रजनन क्षमता सुधार गर्न सक्ने देखाएको छ। तर यो यौनवर्द्धक ओखती नै हो भन्ने प्रमाण छैन।
डार्क चकलेटको मिठास र प्रभाव
चकलेटमा पाइने ‘प्रेम रसायन’ फिनाइलइथाइलामाइनले आनन्द अनुभव गराउन सक्छ। यसले मस्तिष्कमा डोपामाइन उत्पादन गराई आनन्दको अनुभूति गराउँछ। तर चकलेटमा यसको मात्रा निकै न्यून हुने भएकाले यौन जीवनमा प्रत्यक्ष प्रभाव पार्छ भन्ने ठोकुवा गर्न सकिँदैन। इतिहासमा चकलेटलाई यौनवर्द्धक मान्न थालिएको कुरा १६ औं शताब्दीका स्पेनी कंक्विस्टाडर हेर्नान कोर्टेससँग जोडिएको पाइन्छ।
खुर्सानीको पिरोपन र यौन जीवन
खुर्सानीमा पाइने क्याप्साइसीनले शरीरमा इन्डर्फिन उत्पादनलाई प्रोत्साहन गर्छ, जसले मानिसलाई आनन्दको अनुभूति गराउँछ। साथै, खुर्सानीले मुटुको चाल बढाउने र रक्तसञ्चार सुधार गर्ने काम पनि गर्छ। तर यसको प्रभाव यौनक्रियाको प्रत्यक्ष प्रभावसँग जोडिएको भन्दा पनि शारीरिक सक्रियतासँग नजिक छ।
रक्सीको सीमितता र असर
रक्सीले लाज कम गर्न र आत्मविश्वास बढाउन सघाउँछ। तर धेरै रक्सी सेवनले पुरुषमा नपुंसकता निम्त्याउन सक्छ भने महिलामा यौनइच्छा घटाउन सक्छ। लामो समयसम्म रक्सीको अत्यधिक सेवनले यौन जीवनमा नकारात्मक प्रभाव पर्छ भन्ने कुरा प्रमाणित भइसकेको छ।
वास्तविकता के हो?
यौनवर्द्धक भन्ने वस्तुहरूलाई तीन भागमा विभाजन गर्न सकिन्छ – यौनशक्ति, यौनइच्छा र यौन आनन्द बढाउने। तर हालसम्म कुनै पनि खानालाई यौनवर्द्धकको रूपमा पूर्ण रूपमा वैज्ञानिक आधारमा प्रमाणित गर्न सकिएको छैन। कतिपय वस्तुहरूले मानिसमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको हुन सक्छ, जसले यौन जीवनमा सुधार ल्याउन सक्छ।
स्वस्थ यौन जीवनका लागि सन्तुलित खानपान, सक्रिय जीवनशैली, पर्याप्त निद्रा र सकारात्मक मानसिक स्वास्थ्य आवश्यक छ। प्राकृतिक रूपमा पाइने वस्तुहरूले यौन स्वास्थ्यमा सहयोग पुर्याउन सक्छन् तर चमत्कारिक असरको अपेक्षा गर्नु अवास्तविक हो।


























