दाङ, २५ पुस ।प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि दाङको लमहीमा सुरु हुने भएको छ। लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा दाङस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुस २५ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनीका ६ जिल्लाका महिला खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका खेल दुई समूहमा विभाजन गरी खेलाइने छ। समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन्। उद्घाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ। यसपछि दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ।
प्रतियोगिताको दोस्रो दिन भोलि बाँके र पाल्पा तथा नवलपरासी र रूपन्देहीबीच खेल हुनेछ। यस्तै, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दियाबीच खेल हुनेछ। समूह चरण सकिएपछि पुस २८ गते सेमिफाइनल खेलहरू हुनेछन्। पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता भिड्नेछन् भने दोस्रो सेमिफाइनल समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ। छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ।
प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकहरूले जनाएका छन्। देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पिच मर्मतदेखि मैदानको अन्य व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट सङ्घले गर्नेछ। दाङले सरस्वती जिएमको कप्तानीमा आफ्नो टोली घोषणा गरिसकेको छ।
प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सुरु हुने तयारी भइरहेको छ। फाप्लामा हुने मुख्य प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपिएफसहित आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी टोलीहरूले एकअर्कासँग प्रतिस्पर्धा गरी अङ्क तालिकाको शीर्ष चारमा पर्ने टोली प्ले अफ चरणमा पुग्नेछन्।
प्रतियोगिताका विजेता र उपविजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताबाट लुम्बिनी प्रदेशका उत्कृष्ट महिला खेलाडीहरूको छनोट गरिनेछ, जसले प्रदेशको प्रतिनिधित्व गर्दै आगामी खेलहरूमा भाग लिनेछन्।





























