पोखरा, २० माघ । पोखराको नयाँबजारमा आयोजित ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ भव्य रूपमा सम्पन्न भएको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० गतेदेखि सुरु भएको मेला १० दिनसम्म चलेर शनिबार समापन भएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको यस महोत्सवमा १२औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेला समेत समेटिएको थियो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार यो मेला केवल नाफामुखी नभई उद्यमशिलता प्रवर्द्धनका लागि आयोजना गरिएको थियो। मेलाले सूचना प्रविधिबारे ज्ञान आदानप्रदान, उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना र मोबाइल प्रविधिको विकासमा योगदान पुर्‍याउने उनले बताए।

यो संस्करणको मेलाबाट पहिलोपटक सातै प्रदेशका उत्पादन, खाना र संस्कृतिको प्रवर्द्धन गर्ने प्रयास गरिएको थियो। संघका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै व्यवसायीको हितका लागि संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

संघकी महासचिव शोभा गौतमका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक रहेको यो मेलालाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेका थिए। मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल वितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको थियो।

महोत्सवका मुख्य प्रायोजक बाल्ट्रा होम एप्लायन्सेस, सहप्रायोजक समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुण्डाइ), सुजल डेरी र राष्ट्रिय वाणिज्य बैंक रहेका थिए। मुक्तिनाथ विकास बैंकले मेलाको मुख्य द्वार प्रायोजन गरेको थियो भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको थियो।

त्यस्तै, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल टेलिकम, याक ब्रुअरी, डाबर नेपाल, गृहलक्ष्मी ग्यास, बन्दीपुर केबलकार, फिस्टेल ड्रिम पार्क लगायत विभिन्न संघसंस्थाले मेलामा सहभागिता जनाएको थियो।

 

मेलामा युनाइटेड अजोड इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर, खल्ती डिजिटल वालेट पार्टनर, यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर रहेका थिए। हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल, कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका थिए।

मेलाले सूचना प्रविधि, उद्यमशीलता, स्थानीय उत्पादनको प्रवर्द्धन तथा व्यापार व्यवसायको विकासमा टेवा पुर्‍याएको आयोजकको विश्वास छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0