पोखरा, २९ माघ । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को प्रथम महाधिवेशन आज समापन हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै औपचारिक रूपमा टुंगो लगाउने तयारी गरेको छ।
महाधिवेशनको बन्द सत्रमा संयोजक डा. बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरिएको थियो। ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा प्रस्तुत गरिएको प्रतिवेदनलाई १२ समूहमा छलफल गरी सुझावसहित पारित गरिएको हो।
राजनीतिक प्रतिवेदन पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ। महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाबाट चयन हुनेछन् भने उपाध्यक्ष समूहगत प्रतिस्पर्धाबाट चयन गरिनेछ।
महाधिवेशनमा देशभरबाट १५ सय प्रतिनिधिहरू सहभागी भएका छन्। नयाँ नेतृत्व चयनसँगै महाधिवेशन समापन गरिने नेसपाले जनाएको छ।




























