पोखरा, ४ फागुन। राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर पोखरामा जलनबाट घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार पोखरामा आयोजित भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए। अनुहार, घाँटी र हातमा गम्भीर घाउ लागेपछि उनीहरूलाई हेलिकोप्टरमार्फत तत्काल काठमाडौं ल्याइएको थियो। हाल बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनीहरूको उपचार भइरहेको छ।
राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव रोशन पोखरेल, हरिप्रसाद मैनाली र अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले घाइतेहरूको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराएका थिए। चिकित्सकका अनुसार दुवैको स्वास्थ्य खतरामुक्त भए पनि ४८ घण्टासम्म विशेष निगरानीमा राखिनेछ।
पोखरामा पर्यटन प्रवर्द्धनका लागि आयोजित कार्यक्रममा यस्तो अप्रिय घटना भएपछि राष्ट्रपति पौडेलले दु:ख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले अस्पताल प्रशासनलाई उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे।
बर्न अस्पतालले जारी गरेको विज्ञप्तिमा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य स्थिर रहेको उल्लेख गरिएको छ।




























