पोखरा, ६ फागुन। तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले नयाँ कूटनीतिक पहल थालेको छ। मंगलबार साउदी अरबको राजधानी रियादमा अमेरिकी र रुसी अधिकारीहरूबीच वार्ता सम्पन्न भयो। यो वार्तालाई युद्ध अन्त्यको दिशामा पहिलो ठोस प्रयास मानिएको छ। तर, वार्तामा न युद्धरत देश युक्रेन नै सहभागी थियो, न त युरोपेली मुलुकहरूको कुनै महत्त्वपूर्ण भूमिका देखियो।

साउदी अरबको दिरिया प्यालेसमा आयोजित चार घण्टा लामो वार्तामा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियो सहभागी थिए। उनीहरूसँगै ट्रम्पका मध्यपूर्व राजदूत स्टिभ विटकफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाको पनि बैठकमा उपस्थित थिए। यस वार्ताको मूल उद्देश्य रुस–युक्रेन युद्ध अन्त्यका लागि सम्भावित सहमति खोज्नु थियो।

तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने टर्की भ्रमणमा थिए। उनले यसअघि नै आफ्नो सहभागिताविना हुने वार्ता अमान्य हुने बताइसकेका छन्। फ्रान्स, जर्मनी, बेलायत, इटाली, पोल्यान्ड, स्पेन, नेदरल्यान्ड्स र डेनमार्कका नेताहरूले वार्तामा समेटिन नपाएकोमा अमेरिकाप्रति असन्तोष व्यक्त गरेका छन्। फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनले सोमबार पेरिसमा आपतकालीन बैठक राखी युक्रेन मामिलामा युरोपको रणनीति तय गर्ने प्रयास गरेका थिए।

वार्तापछि अमेरिकी विदेशमन्त्री रुबियोले यसलाई ‘लामो यात्रा भए पनि महत्वपूर्ण पहिलो पाइला’ भन्दै सकारात्मक प्रतिक्रिया दिए। रुसी विदेशमन्त्री लाभरोभले पनि द्विपक्षीय सम्बन्ध सुधार्न वार्ता उपयोगी भएको बताए। क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर बैठकको आधार तयार भएको उल्लेख गरे।

रिपोर्टहरू अनुसार वार्तामा रुसले युक्रेनको तटस्थता, असैन्यकरण, नाजीमुक्त बनाउने र कब्जा गरिएका भूभाग कायम राख्नुपर्ने शर्त अघि सारेको छ। अर्कोतर्फ, अमेरिकाले युक्रेनलाई नेटोको सदस्यता लिन रोक्नुपर्ने र युद्धग्रस्त मुलुकको पुनर्निर्माणको नेतृत्व गर्ने प्रस्ताव राखेको बताइएको छ।

जेलेन्स्कीले भने युक्रेनको भूभाग रक्षाका लागि कुनै सम्झौता स्वीकार्य नहुने अडान दोहोर्याएका छन्। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले केही दिनअघि मात्र युक्रेनले आफ्नो गुमेको भूभाग फिर्ता माग्ने र नेटो सदस्यता खोज्ने चाहना त्यागे मात्र शान्ति सम्भव हुने बताएका थिए।

अबको प्रश्न भनेको के ट्रम्पको योजना सफल होला? अमेरिकाले युद्ध अन्त्यको रणनीति बनाए पनि युक्रेनबिना समाधान खोज्नु सम्भव देखिँदैन। युद्धरत मुलुकको सहभागिता विना गरिएको वार्ताले के कति सार्थक परिणाम ल्याउनेछ भन्ने विषय खुला छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0