पोखरा, १५ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले अघि बढाएका सुधार कार्यहरूलाई हालको सरकारले रोकिरहेको आरोप लगाएका छन्। सुनसरीको देबानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै उनले कृषि मल आपूर्ति, पाठ्यपुस्तक वितरण, नागरिकता तथा मिटरब्याज समस्या समाधान जस्ता विषयहरूमा अहिलेको सरकार उदासीन बनेको बताए।

उनले आफ्नो नेतृत्वको सरकारले मल आपूर्ति सहज बनाएकोमा अहिले पुनः पुरानै अवस्था फर्किएको र विद्यार्थीहरूलाई समयमै पाठ्यपुस्तक पुर्‍याउने प्रयासलाई हालको सरकारले कमजोर बनाएको आरोप लगाए। नागरिकता कानुन कार्यान्वयनमा ढिलाइ र मिटरब्याज पीडितको समस्या समाधानमा सरकारको गैरजिम्मेवारीपनबारे पनि उनले असन्तोष व्यक्त गरे।

प्रचण्डले वर्तमान सरकार भ्रष्ट, माफिया र बिचौलियालाई मलजल गर्ने काममा मात्रै केन्द्रित भएको आरोप लगाए। साथै, संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको दाबी गर्दै जनताको बलबुतोले त्यस्ता प्रयासलाई असफल पार्ने चेतावनी दिए।

मधेसमा कृषिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले कृषि पेन्सन, कृषि बीमा, शीत भण्डार तथा उपज बिक्री केन्द्र स्थापना गर्ने पहल गर्ने प्रतिवद्धता जनाए। साथै, उत्पीडित क्षेत्र र समुदायले गरेको ऐतिहासिक योगदानको सम्मान गर्दै उनीहरूको अवस्था रूपान्तरणका लागि माओवादी केन्द्र सक्रिय रहने बताए।

अध्यक्ष प्रचण्डले जनताको वास्तविक आवश्यकतालाई बुझ्न आफूहरू अभियानमा आएको बताउँदै देबानगन्जलगायतका क्षेत्रमा प्रत्यक्ष अवलोकनपछि थप योजनाहरू निर्माण गर्ने स्पष्ट पारे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0