पोखरा, २० फागुन। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि २५ वटा विद्यार्थी सङ्गठन प्रतिस्पर्धामा उत्रिएका छन्। स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार त्रिवि अन्तर्गत २५ सङ्घ–सङ्गठनले दर्ता गराएका हुन्।
त्रिविको ६४ मध्ये डोटी र दाङबाहेक ६२ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ। नेपाल ल क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस र जनकपुरको रारा बहुमुखी क्याम्पसमा मंगलबार सङ्गठन तथा समूह दर्ता भएको छ। ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा सबैभन्दा बढी ३४ सङ्गठन तथा समूह प्रतिस्पर्धाका लागि दर्ता भएका छन्।
स्ववियु निर्वाचन विकेन्द्रीकृत प्रणालीमा हुने भएकाले प्रत्येक क्याम्पसमा सङ्गठनहरूको सङ्ख्या फरक रहेको अधिकारीले बताए। बुधबार मतदातासूची प्रकाशन गर्ने कार्यतालिका छ। त्रिविमा प्रतिस्पर्धा गर्न उत्साहजनक सङ्ख्यामा विद्यार्थी सङ्गठनहरू दर्ता भएका छन्।




























