पोखरा, २९ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाहको हालका गतिविधिप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरू आक्रामक बनेका छन्। संघीय राजधानी काठमाडौंमा पूर्वराजाले शक्ति प्रदर्शन गरेपछि सुदूरपश्चिममा आयोजित कांग्रेसको प्रदेश सम्मेलनमा नेताहरूले राजतन्त्र पुनःस्थापनाको सपना देख्नु व्यर्थ रहेको प्रस्ट पारे।

धनगढीमा आयोजित कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले पूर्वराजाका गतिविधिप्रति गम्भीर असहमति जनाउँदै राजतन्त्रको पुनरागमन असम्भव रहेको बताए। पूर्वप्रधानमन्त्री देउवाले पत्रकारहरूसँग कुरा गर्दै पूर्वराजाले शक्ति प्रदर्शन गरे पनि त्यसले कुनै प्रभाव नपार्ने बताए। उनले राजावादीहरूमार्फत देशमा राजतन्त्र फर्काउने कुनै सम्भावना नरहेको उल्लेख गर्दै आफूले यस्तो माहोल नदेखेको बताए।

समारोहमा उपसभापति पूर्णबहादुर खड्काले पूर्वराजाका गतिविधिहरू कांग्रेसको मूल एजेन्डा नभएको स्पष्ट पार्दै पार्टी आफ्नै नीति र दृष्टिकोणमा केन्द्रित हुने बताए। उनले बाहिर बजाइएका बाजाहरू कांग्रेसको कार्यसूची बन्न नसक्ने बताए। महामन्त्री गगनकुमार थापाले राजावादीहरूले नागरिक असन्तुष्टिलाई आफ्नो स्वार्थका लागि उपयोग गर्न खोजेको आरोप लगाए। उनले लोकतान्त्रिक प्रणालीप्रति नागरिक असन्तुष्ट भएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ज्ञानेन्द्र शाहबारे चर्चा गर्नु नै आवश्यक नरहेको बताउँदै आफूले नै उनलाई बहिर्गमन गराएको स्मरण गराए। उनले सरकार चाहेमा पूर्वराजालाई उपलब्ध गराइएका सबै सुविधा खोस्न सक्ने बताए। सहमहामन्त्री जीवन परियारले दोस्रो जनआन्दोलनको इतिहास सम्झाउँदै लाखौँ जनता सडकमा उत्रेर राजतन्त्र अन्त्य गरेको बताए।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको पहिचानसँग गाँसिएको भएकाले त्यसलाई कसैले मेट्न नसक्ने दाबी गरिन्। नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै शासन व्यवस्था हुन नसक्ने बताए।

कांग्रेस नेताहरूको भनाइ अनुसार, वर्तमान संविधानको रक्षा गर्नु कांग्रेसको प्रमुख जिम्मेवारी हो। उनीहरूका अनुसार, संसद्भित्र कम्युनिस्टहरूद्वारा र सडकमा राजावादीहरूद्वारा प्रजातन्त्रमा खतरा उत्पन्न गर्ने प्रयास भए पनि कांग्रेस त्यसविरुद्ध दृढ रहनुपर्ने छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0