पोखरा, ३ चैत्र। पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’ को आरोप लगाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध राप्रपा सचेतक ज्ञानेन्द्र शाही प्रतिवादमा उत्रिएका छन्। उनले प्रचण्डलाई दरबार हत्याकाण्डको योजनाकार भन्दै गम्भीर आरोप लगाएका छन्।
शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई मूर्ति चोरीदेखि सुन तस्करीसम्मको आरोप लगाएका थिए। त्यसको केही घण्टापछि प्रतिक्रिया दिँदै शाहीले दरबार हत्याकाण्डको सबैभन्दा ठूलो लाभ उठाउने व्यक्ति प्रचण्ड भएको आरोप लगाए। उनले राजा वीरेन्द्रको वंशविनाश विदेशी इशारामा प्रचण्ड र तत्कालीन सरकारको मिलेमतोमा भएको दाबी गरे।
‘सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकारले मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यो। तर, यस्तै भड्किला झुटा भाषण गर्दै हिँड्यौ भने नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्,’ शाहीले सामाजिक सञ्जालमा लेखे।
शाहीले २०५२ सालमा हतियार उठाउनेदेखि लिएर राजसंस्था हटाउने योजना बनाई युद्ध छेड्ने काम प्रचण्डले नै गरेको बताए। उनले माओवादी सशस्त्र द्वन्द्वका क्रममा हजारौं निर्दोष नागरिकको हत्या भएको आरोप लगाउँदै भने, ‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार गरीबका छोराछोरीको हत्या प्रचण्डले नै गरे।’
उनले प्रचण्डलाई विदेशी शक्तिहरूसँग साँठगाँठ गरेर नेपालमा अराजकता फैलाएको आरोप लगाए। ‘राजसंस्थालाई हटाउन M16, AK-47, LMG, SMG जस्ता हतियार कसले ल्यायो? मोबाइल फोन नभएको समयमा स्याटेलाइट फोन कसले पायो? तपाईंले,’ शाहीले कटाक्ष गरे।
शाहीले ३३ किलो सुन तस्करीदेखि क्यान्टोनमेन्ट घोटालासम्म माओवादी नेतृत्वको संलग्नता रहेको आरोपसमेत लगाए। ‘विदेशी इशारामा मन्दिर र गुम्बाका पुजारीको हत्या कसले गर्यो? तपाईंले। बाटोमा बम थापेर निर्दोष नागरिक मार्ने काम कसले गर्यो? तपाईंले,’ भन्दै उनले माओवादी नेतृत्वको भूमिकामाथि प्रश्न उठाए।
राजनीतिक वृत्तमा पूर्वराजामाथिको आरोपलाई लिएर चर्किएको बहस शाहीको प्रतिक्रियासँगै थप तातेको छ।


























